Slider
बैतडीको पाटन नगरपालिका–६ स्थित नयाँ बसपार्कका संरचना प्रयोगविहीन, सञ्चालन नहुँदै जिर्ण
बैतडी - बैतडीको पाटन नगरपालिका–६ मा निर्माण गरिएको नयाँ बसपार्क सञ्चालनमा नआउँदै जिर्ण बन्दै गएको छ।
लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका भौतिक संरचना हाल प्रयोगविहीन अवस्थामा छन् भने उचित व्यवस्थापन र संरक्षणको अभावमा बसपार्क क्षेत्र जीर्ण देखिन थालेको छ। बसपार्क क्षेत्रमा यात्रु प्रतीक्षालय, टिकट काउन्टर, सवारी साधन पार्किङ स्थल लगायतका संरचना तयार भए पनि बसपार्क सञ्चालन नहुँदा ती संरचना प्रयोगमा आउन सकेका छैनन्।बसपार्क परिसरमा सवारी आवागमन नहुँदा जमिन भत्किएको, ढलान चर्किएको तथा फोहोर र ढुंगामाटो थुप्रिएको अवस्था छ। केही संरचनामा रंग उखेलिन थालेको छ भने फलामे गेट र अन्य सामग्री समेत जिर्ण अवस्थामा पुगेका छन्।
शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना पाटन बैतडीका अनुसार बसपार्क निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनको स्पष्ट योजना नबन्दा सरकारी लगानी खेर जाने अवस्थामा पुगेको बताइएको छ । बसपार्क बनेको छ, तर प्रयोग बिहिन भएपछि यात्रु र चालकले पुरानै स्थान प्रयोग गर्न बाध्य भएका शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना पाटन बैतडीका प्रमुख झंक बहादुर थापाले बताउनु भयो ।
नयाँ बसपार्क निर्माण गरिएको भएपनी उपयुक्त पहुँच सडक, सुरक्षा, पानी तथा शौचालय व्यवस्थापन जस्ता आधारभूत सुविधा नपुगेकाले नयाँ बसपार्क प्रयोगमा ल्याउन कठिनाइ भएको कार्यालय प्रमुख थापाको भनाइ रहेको छ । नगरपालिकाले सम्बन्धित निकाय र व्यवसायीहरूसँग समन्वय गरी आवश्यक नवनिर्मित पूर्वाधारको व्यवस्थापन नगर्दा बसपार्क सञ्चालन अन्योलमा परेको बताइएको छ ।
यता पाटन नगरपालिका भने बसपार्क सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको दाबी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालका अनुसार सडक सुधार, व्यवस्थापन र यातायात व्यवसायीसँग छलफलपछि छिट्टै बसपार्क सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।
तर समयमै ठोस कदम नचालिए नयाँ बसपार्कका संरचना थप जिर्ण बन्दै जाने र सार्वजनिक सम्पत्तिमा गरिएको लगानी खेर जाने जोखिम बढ्दै गएको छ। स्थानीयवासीले छिटोभन्दा छिटो बसपार्क सञ्चालन गरी यात्रु र सवारी व्यवस्थापनमा सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्टले बताउनु भयो ।