Slider
पिपिएल क्रिकेटः टिम क्वालिटी र मेलौली अन्तिम आठमा प्रवेश
बैतडी । टिम क्वालिटी कैलपाल र मेलौली नगरपालिकाको टोली बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको अन्तिम आठमा प्रवेश गरेका छन् ।
लिग चरणको अन्तिम खेलमा मंगलबार ग्वाल्लेक क्रिकेट क्लबलाई पराजित गर्दै कैलपाल समूह ए को विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो । कैलपालले दिएको १७२ रनको लक्ष्य पन्छाएको ग्वाल्लेकले ११५ रन मात्रै बनाउन सक्यो । ग्वाल्लेकका पंकज जोशीले ५३ रनको अर्धसतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि श्री कृष्ण मावि पाटनको मैदानमा टस जितेर ब्याटिङ गरेको कैलपालले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । कैलपालका लागि प्रकाश पाण्डेयले ३५, राहुल चन्दले ३१ र प्रदिप चन्दले २७ रनको योगदान गरे । ग्वाल्लेकका हरि पन्तले २ विकेट लिए । यो खेलमा अर्धसतकीय पारी खेलेको ग्वाल्लेकका जोशी नै म्यान आफ द म्याच चुनिएका स्कोरर दीपेन्द्र बहादुर बोहराले जानकारी दिए । मंगलबारनै भएको अर्काे खेलमा दशरथचन्द स्मृति प्रतिष्ठानलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ए को उपविजेताको रूपमा मेलौली क्वाटरफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको मेलौलीले निर्धारित १५ ओभरमा २५७ रनको विशाल योगफल तयार गरेको थियो । मेलौलीका लागि बसन्त सिंह कार्कीले ७६ र अशोक पालले ६८ रनको अर्धसतकिय पारी खेलेका थिए । जवाफि ब्याटिङमा उत्रेको प्रतिष्ठान ११.२ ओभरमा ६६ रन बनाएर अलआउट भयो । मेलौलीका सचिन भट्टले ४ विकेट लिए । मेलौलीका बसन्त सिंह कार्की म्यान अफ द म्याच चुनिए । हारसंगै समूह ए मै रहेका ग्वाल्लेक र प्रतिष्ठान प्रतियोगिताबाट बाहिरिएका छन् ।
पाटन क्रिकेट क्लबको आयोजनामा कात्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।